हे पापी पेट ! अब तिमीलाई पनि राजनीति सिकाउनु पर्ने भो !

Share

चुनाव आयो कि गाउँ-शहरका भेउकुनाहरूमा ‘लजिङ फुटिङ’ को बहार चल्छ । मानौं नेताहरूको गफ र बिरयानीको स्वादै लोकतन्त्रको आधार हो । जसले रातको खाना राम्रो दियो, जसको टेन्टमा बाँसको बेडमा म्याट्रस थपियो, त्यही पार्टीलाई भोट ! विचार, नीति, सिद्धान्त ती सब त किताबमा लेखिएका कुरामात्र हो जस्तो ।

म सोच्थे, जनयुद्धको पीडा जनताले बिर्सेका छैनन् । म ठान्थे, प्रचण्डका भाषणहरूले अझै पनि मुटु छोन्छ । म विश्वास गर्थे, माओवादीका नेताहरूले गरेका बलिदान र परिवर्तनका कुरा जनताको चेतनामा बाँकी छन । तर, हैन रहेछ !

यहाँ विचार भन्दा भातको स्वादले निर्णायक भूमिका खेल्दो रहेछ । राति काँग्रेसको टेन्टमा खसीको मासु चपाए, बिहान उसैलाई भोट । एमालेको लजिङमा सुत्दा दुई वटा सिरक ओढ्न पाइयो, अनि सोच्यो; यिनैले देश बनाउँछन, यिनैलाई दिम भोट । त्यत्रो बलिदान, त्यत्रो त्याग, हजारौ लाशमाथि टेकेर ल्याइएको गणतन्त्रको मूल्य एउटा बिरयानीको प्लेट बराबर !

भोलिको देश के हुन्छ, विचार गदैनन । आज राति के खान पाइन्छ, त्यही सोचेर नेता छान्छन । अनि मलाई भन्छन, हामीले त राम्रोसँग खुवाउनेलाई भोट दियौ । म सोच्छु, हैन ! लोकतन्त्रको मेनु कार्ड हुन्छ र ? संसद चाहिन्छ कि सेकुवा ? नीति हेर्नु पर्ने कि नुनतेल ?

हे, पापी पेट, तिमिलाई के सारो भोक ! आफु भने माओवादीको समर्थक गरेर पेटसँगै आत्मा पनि भोकै । मैले सोचे, विचार पुरानो हुन सक्छ, तर नियत पुरानो छैन । तर जनताले देखाए, उनीहरूलाई नियत होइन, “डिनर सेट” चाहिएको रहेछ ।

अचेल क्रान्तिका कुरा गर्यौ भने भन्छन अब पुरानो कुरा नगर । अनि मलाई हाँसो उठछ । अघिल्लो रातिको मासु बाँकी रहेपछि बिहान फेरि तताएर खानेहरू पुरानो कुरा नगर्नु भन्छन ।

फेरि मनमनै भन्छु, हे पानी पेट, तिमी साँच्चै महान छौ । तिमीले नीति, विचार र आदर्श सबै पचाएर, केवल डाइजेसन हेरेर निर्णय गर्यौ । तिमीलाई न जनयुद्धको घाउ चस्क्यो, न सहिदको सपनाले सुत्केरी ब्यथा दियो । तिमी त लजिङको सिरकमा मख्ख भयौ । र म, म त बस् मूर्ख बने । सोचे, अहिले पनि केही जनताले सोचिरहेका होलान । केहीले चिन्न सक्लान, को साँच्चै देश बनाउने हो ? तर मैले बिर्से, यो देशमा अब मत पेटी हैन, भात पेटी बलियो भएको छ ।

अन्ततः म खुइल्यिएर भन्छु, हे पापी पेट ! अब तिमीलाई विचार पढाउनु पनि पाप लाग्ला जस्तो लाग्छ । तिमीलाई केवल टिफिन बोक्नेहरूको गीत मन पर्छ, जिन्दगी बोक्नेहरूको क्रान्ति होइन ।

फाराप रुम्बा तामाङ, (Pharap Rumba Tamang) को फेसबुक वाल बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *