सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित, ऐतिहासिक यात्रा सफलतामा परिणत
काठमाडौं, २०८२ जेठ ५ – लामो समयदेखि प्रतीक्षित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । यससँगै सुदूरपश्चिमको गेटामा स्थापना हुन लागेको विश्वविद्यालय अब कानुनी रूपमा कार्यान्वयनमा जानसक्ने अवस्था बनेको छ।
यो ऐतिहासिक उपलब्धिले स्वास्थ्य शिक्षा र सेवा प्रवाहमा सुदूरपश्चिममा नयाँ युगको थालनी गर्ने विश्वास गरिएको छ ।
दशक लामो संघर्ष र नेतृत्वको कथा
- २०५६ सालमा गेटा, कैलालीस्थित आँखा अस्पताल नजिक ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाको लागि छुट्याइएको थियो ।
- २०६५ सालमा, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो कार्यकालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरियो ।
- २०६६ सालमा, राष्ट्रिय योजना आयोगमार्फत ११ करोड रुपैयाँ विनियोजन गरिँदै “गेटा मेडिकल कलेज संरचना विकास समिति” गठन गरियो ।
- २०७१ सालमा मेडिकल कलेजको शिलान्यास गरियो र वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरियो, यद्यपि रूख कटानको विषयमा विवाद उत्पन्न भएको थियो ।
- २०७४ सालमा, प्रधानमन्त्री प्रचण्डको दोस्रो कार्यकालमा पूर्वाधार निर्माणको काम थालियो ।
- २०७९ सालमा, उनको तेस्रो कार्यकालमा गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा विकास गर्ने निर्णय भयो । ६०० शैयाको अस्पतालको योजना भए तापनि हाल प्रारम्भिक रूपमा २०० शैयाको अस्पताल सञ्चालनका लागि दरबन्दी स्वीकृत गरियो ।
- २०८० सालमा, शिक्षा मन्त्रालयले विधेयक तयार गर्न प्रक्रिया सुरु गर्यो। नागरिक समाजका प्रतिनिधिका रूपमा गोकर्ण भट्ट र भीम चन्द मस्यौदा समिति सदस्य नियुक्त भए ।
- सोही वर्ष, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदबाट विधेयक स्वीकृत भई राष्ट्रिय सभामा पेश गरियो ।
- अन्ततः, २०८२ सालमा प्रतिनिधि सभाबाट विधेयक पारित भएसँगै विश्वविद्यालयको स्थापना कानुनी रूपमा सुनिश्चित भएको छ ।
नेतृत्व र धन्यवाद
यस ऐतिहासिक उपलब्धिमा मूल नेतृत्वकर्ता पूर्व धानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शिक्षा मन्त्रालय, गेटा मेडिकल कलेज संरचना विकास समिति, नागरिक समाज तथा विधेयक निर्माणमा संलग्न सम्पूर्ण पक्षहरूलाई धन्यवाद व्यक्त गरिएको छ ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिममा गुणस्तरीय चिकित्सा शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवा प्रवाहमा कोसेढुंगा सावित हुने विश्वास लिइएको छ ।
साभार : साँसद छिरिङ ल्हामो लामा
https://shorturl.fm/YvSxU