सिन्धुपाल्चोक, जेष्ठ १० – नेकपा माओवादी केन्द्र लिसंखुपाखर गाउँपालिका पार्टी सचिवालय समितिको दोस्रो बैठक आज सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिका रूपमा जिल्ला इन्चार्ज क. केशव नेपाल, विशेष अतिथि लिसंखुपाखर गाउँपालिकाका निर्वाचित अध्यक्ष तथा पार्टीका अगुवा क. राजु लामा, तथा विशेष अतिथि प्रदेश सदस्य क. पूर्ण बहादुर तामाङको उपस्थिति रहेको थियो ।

बैठकको प्रारम्भमा हालै सम्पन्न तामाङ मुक्ती मोर्चा बागमती प्रदेशको पहिलो सम्मेलनबाट उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएका क. बयान बहादुर घीसिङ – तामाङ लाई खादा ओढाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।
बैठकको मुख्य एजेन्डा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समाजवाद उन्मुख बजेट निर्माणमा केन्द्रित रह्यो । जिल्ला इन्चार्ज क. केशव नेपालले माओवादी केन्द्रको केन्द्रीय नीतिअनुसार गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्दै समाजवाद उन्मुख बजेट निर्माण गर्न निर्देशन दिनुभयो ।

गाउँपालिका पार्टी कमिटीका अध्यक्ष क. होमनाथ श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले वडास्तरमै जनभावनाअनुसार विकास योजना तयार पार्नुपर्ने निष्कर्ष निकाल्यो । बैठकले जेठ १३ भित्र प्रत्येक वडाबाट विकास योजना संकलन गरी गाउँपालिका सरकारमा प्रस्ताव पठाउने निर्णय गरेको छ ।

त्यसैगरी, निर्वाचित वडा जनप्रतिनिधिको नेतृत्वमा योजना तयार पार्ने, भने जनप्रतिनिधि नरहेका वडाहरूमा ‘छायाँ सरकार’को रूपमा कार्यदल गठन गरी विकास योजना तयार पार्ने निर्णय समेत गरिएको छ। पालिका कमिटीका पदाधिकारीहरू सबै वडामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गरी योजना निर्माणमा सहजीकरण गर्नेछन ।
बैठकले माओवादी केन्द्रको समाजवाद उन्मुख अभियानलाई कार्यान्वयन गर्दै पार्टी र जनप्रतिनिधिबीच सहकार्यद्वारा समावेशी, जनमुखी र उत्तरदायी बजेट निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
https://shorturl.fm/6539m