वर्गीय राजनीतिमा ब्राम्हण क्रान्तिकारीको विडम्बना

Share
फाराप रुम्बा तामाङ

नेपालको राजनीतिक मञ्चमा एउटा यस्तो असाधारण दृश्य देखिन्छ, जुन दक्षिण एशियाकै प्रगतिशील राजनीतिमा दुर्लभ उदाहरण हो । ब्राम्हण कुलबाट जन्मिएका एक विचारवान, प्रतिबद्ध नेता, जो सम्पूर्ण जीवन आदिवासी जनजाति र उत्पीडित वर्गहरूको मुक्तिको पक्षमा समर्पित छन । यो विडम्बनाले भरिएको देशमा जहाँ जातीय हैसियत राजनीतिक लाभको साधन बनेको छ । त्यहाँ यो व्यक्तित्व, जो साँचै क्रान्तिकारी विचार बोकेका छन, तर अझै पनि सन्देहको सिकार बनिरहेका छन । विशेषतः तिनै समुदायबाट जसका लागि उनले जीवन खपाएका छन ।

यी नेताले सिधा शब्दमा आफुलाई “आदिवासी जनजातिको नेता” को रुपमा कहिल्यै घोकिनेनन । तर व्यवहारमा, वैचारिक हैसियतमा, सैद्धान्तिक प्रतिबद्धतामा र निरन्तर राजनीतिक यात्रामा उनी नै आदिवासी जनजाति, दलित, महिला र सिंगो उत्पीडित जनताको पक्षधर नेता हुन । जनयुद्धको तातो मोर्चादेखि शान्ति प्रक्रियाको जटिल संवादसम्म, संघीयताको परिकल्पनादेखि संविधान निर्माणमा आवाज बुलन्द पार्नेसम्म, उनले आफ्नो ‘कुल’ होइन, ‘वर्ग’ रोजे । उनले ‘जात’ होइन, ‘जनता’ रोजे ।

तर बिडम्बना ! आज आदिवासी जनजाति समुदायभित्रका एकथरी तथाकथित बौद्धिक अनुयायीहरू ती नेताको गहिरो वर्गीय निष्ठा बुझ्न असफल भइरहेका छन । “कुन कुलबाट हो ?” भन्ने प्रश्नलाई “के पक्षमा छ ?” भन्दा अगाडि राखेर मूल्यांकन गर्ने मानसिकता आफैमा आत्मघाती छ । यसले उत्पीडित आन्दोलनको आत्मालाई नै बेइमानी गर्छ ।

यो प्रश्नले हामीलाई गम्भीर आत्ममूल्याङ्कनतर्फ लैजान्छ । यदि एक ब्राम्हणले आफ्नो सम्पूर्ण जीवन आदिवासी जनताको मुक्तिमा होम्दा पनि शंका गरिन्छ भने, यो साँचो मुक्तिको चाहना हो त ? कि यो नेतृत्वको जातीयकरण मात्र हो ? के यत्रायत्रा पुस्ता रगत बगाउने नेताको मूल्यांकन नेतृत्वको चरित्रबाट होइन, उसको थरबाट गर्ने हो ? यो त ठीक उल्टो फाँसीवादी सोच होइन र ?

आज ती नेता माथि प्रश्न उठाउनेहरूले त्यो सम्झनु पर्छ । कसले जनयुद्धमा राज्यसँग लड्दा आदिवासी जनजातिको पहिचान र अधिकारको मुद्दालाई पार्टीको केन्द्रमा ल्यायो ? कसले मधेस, पहाड, जनजाति बीचको अन्तरविरोध सुल्झाउँदै संघीयताको मागलाई संस्थागत बनायो ? कसले राष्ट्रवाद र वर्गीय मुक्ति सँगसँगै लैजाने प्रयास गर्यो ?

यी उत्तरहरू तथ्य र इतिहासले दिन सक्छ । ती नेता स्वयम त्यसका प्रमाण हुन । उनी स्वयं जनताको अदालतमा कैयौ अग्निपरीक्षा दिइसकेका छन । तर प्रश्न उठाउनेहरू, खासगरी आदिवासी जनजातिका नाममा बोल्ने केही स्वघोषित प्रवक्ता र विद्वान भन्नेहरु, उनीहरूको लडाइँ होइन, उनको थर हेरिरहेका छन ।

आजको मुल चुनौती यो हो; के हामी नेता छान्दा, प्रतिनिधित्व हेर्दा, जात हेर्छौ कि विचार ? के हामी आफ्नो मुक्तिको यात्रामा संकीर्ण पहिचानको झिल्कोमा आफैंलाई जलाउँछौ ? कि इतिहासबाट सिकेर आफूलाई वर्गीय र समावेशी राजनीतिमा उभ्याउँछौ ?

यदि आज आदिवासी जनजाति भनिएकाहरूले ती सच्चा वर्गीय नेताको पहिचान बुझ्न सकेनन भने त्यो उनीहरूको हार होइन, पुरै आदिवासी जनजाति आन्दोलनको रणनीतिक पराजय हुनेछ । जब नेतृत्वको मुल्य जातबाट होइन, विचार र प्रतिवद्धताबाट गरिन्छ, तब मात्रै मुक्तिको यात्रा सम्भव हुन्छ ।

समाज परिवर्तनको संघर्षमा कहिलेकाही यस्ता विरोधाभास देखिन्छन, जहाँ उत्पीडक जातको व्यक्तिले उत्पीडितहरूको नेतृत्व गर्छ, र उत्पीडित जातको मानिस उत्पीडनकै संरचना जोगाउन लाग्दछ । यो उल्झनमा साँचो मापदण्ड विचार, आचरण र निरन्तरता हो । तर जातीय संकीर्णताले क्रान्तिलाई भाँड्छ, वर्गीय स्पष्टताले जोड्दछ ।

त्यसैले, जो आज आदिवासी जनजातिको नाममा बोल्छन्, उनीहरूले त्यो ब्राम्हण नेताको मुल्य बुझ्नुपर्छ । नत्र, उनीहरू यथास्थितिवादी शक्तिको औजार बन्नेछन, जसले यो राष्ट्र फेरि सामन्तवाद, जातीयता र संकीर्ण पहिचानको भुमरीमा फसाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *