मौन क्रान्तिकारी ; जात, वर्ग, क्षेत्र र लिङ्गको आवाज लुकाउनेहरुको आत्मपरिचय

Share
फाराप रुम्बा तामाङ

क्रान्तिका सन्तानहरू आज मौन छन । मुखमा मार्क्सको मन्त्र, तर मनमा माथिल्लो वर्णको मन्दिर । अस्ति भर्खरैसम्म त जनयुद्धको गीत गाइरहेका थिए “गाउँ गाउँबाट उठ, जाग क्रान्तिकारी !” आज शहर सरेपछि स्वर फेरिएको छ “शान्त रह, अवसर खोज !”

पार्टीको नाममा जातीय मोर्चा गठन गरियो, तर मोर्चा हेर्दा लाग्छ, यो त मोर्चा होइन, मत संग्रहको बाँकी किताब हो । जातीय मोर्चा होइन, “बोट लाउनु र भोट पाउनु” को सुक्ष्म प्रयोगशाला हो ।

जुन पार्टीले जनयुद्धको नाममा जातीय, वर्गीय, क्षेत्रीय, लिङ्गीय उत्पीडनको जरा उखेल्ने सौगन्ध खाएको थियो, आज त्यही पार्टीभित्र “तामाङ भनेर चिनिन लाज लाग्ने” कार्यकर्ता भेटिन थालेका छन । आफ्नै पहिचान लुकाएर क्रान्ति गर्ने सपना देख्दैछन, शायद चन्द्र सूर्यको छाँयामा पहिचान हराउँदा शान्ति मिल्छ भन्ने भ्रममा छन ।

कहिले लिएको थियो माओवादीले यस्तो निर्णय ? अबदेखि तपाईंहरु जातको नाम नलिनुहोस भनेर, पार्टीभित्र जातीय आवाज उठाउने हो भने तपाईको भविष्य समाप्त हुन्छ ! के छ त यो मौनताको आदेश ? पत्र छैन, निर्णय छैन । तर सत्ता र अवसरको जुँगाभित्र लुकेको अदृश्य डर हरेक कार्यकर्ताको जीउभरिको स्पन्दन बनेको छ ।

अनि त्यही डरले गर्दा, हिजो साथी भनेर बोलाउनेहरूले आज, उहाँ नेता ज्यू, दर्शन दिनुहोस, बिचार बाँड्नुहोस भन्न थालेका छन । नेता अब जनताको प्रतिनिधि होइनन कि, उनीहरुलाई नयाँ युगका अवतार क्रान्तिकारी देवता ठान्न थालेका छन ।

तर साथी हो, याद गर ! हामीले देवता होइन, दलाल मार्न बन्दुक उठाएका थियौ । हामीले चाकडीबाज होइन, परिवर्तनकारी उत्पादन गर्न संगठन विस्तार गरेका थियौ ।

आज ती दलालहरू फेरि फर्केका छन, सुनौला झ्याल ढोकाभित्र, ब्यूटी पार्लरझै चम्किने राजनीतिक कार्यालयभित्र । यिनको भाषा मीठो छ, तपाईको जातीय पीडालाई “वर्गीय एम्बिग्युटी” भन्दै हटाउने कला छ । तर हामीले झेल्यौ, धनङ्गढीको गर्मी, रोल्पाको हिउँ, रुकुमको रात । किन ? किनभने हामी एकटा नामेट आवाज बन्न चाहन्थ्यौ । जात होइन, जातमा भएको उत्पीडनको अन्त्य ।

साथी हो, क्रान्ति र मौनता एउटै थालीमा पस्किने परिकार होइन । क्रान्तिकारी बन्ने हो भने बोल, जातको कुरा गर, लिङ्गको कुरा गर, क्षेत्रको कुरा गर, र वर्गविहीन समाजको सपना देख्नुअघि जातविहीन आत्मालाई तयार गर ।

त्यसैले, अब निर्णय गर । तिमी जनताको छोराछोरी हौ कि चाकडीबाजका सहकर्मी ? तिमी क्रान्तिको बाँसुरी हौ कि मौनताको बुट्टेदार रुमाल ?

जय जनयुद्ध ! जय क्रान्ति ✊

14 thoughts on “मौन क्रान्तिकारी ; जात, वर्ग, क्षेत्र र लिङ्गको आवाज लुकाउनेहरुको आत्मपरिचय

Leave a Reply

Your email address will not be published. Required fields are marked *