“यदि अङ्ग्रेज नेपाल पसेका भए देश रहँदैनथ्यो ! भन्ने होत ?”

Share
फाराप रुम्बा तामाङ

एउटा “होत” ! भन्ने कुरा छ । यदि हाम्रा राजाका सेनाले अङ्ग्रेज सेनालाई नखेदाएका भए, आज यो देश रहँदैनथ्यो रे ! अब यस्तो सुन्दा लाग्छ, कसैले पुरानो कालको पिटेको रेकर्ड बजायो, जुन घटनालाई होइन, भावनालाई आधारित छ ।

तर मित्र, एकछिन विश्व इतिहास हेरेर सोच्नुस । कुन देश बाँकी राखेका थिए अङ्ग्रेजले ? कसलाई छोडेका थिए उसले ? सन १९०० तिरको विश्व नक्सा हेर्नुहोस । एसिया, अफ्रिका, अमेरिका, अष्ट्रेलियासम्म अङ्ग्रेजकै रंग थियो । अर्थात संसार जित्ने सपना बोकेको अङ्ग्रेजले हाम्लाई किन छोड्थ्यो ? के हामी साँच्चै “वीर’ थियौ कि “उपयोगी” ?

हो, एउटा युग थियो । दम्भको युग ! “जसको शक्ति, उस्को भक्ति” भन्ने !

त्यो दम्भ नेपालसम्म आइपुग्यो, दम्भ देखायो, फर्कियो । तर फर्केको कारण वीरता थिएन, राजा र सरकारकै आत्मसमर्पण थियो । आज पनि प्रश्न उब्जन्छ ! अङ्ग्रेज भित्रिएको भए के हुन्थ्यो ? यो प्रश्न आत्मघाती बहस हो, जुन इतिहास नपढ्नेहरू मात्र गर्छन । अब त्यसैको जवाफ दिउँ, ऐतिहासिक उदाहरणसहित । भारतको ऐतिहासिक दृष्टान्त : गुलामीको गर्भबाट जन्मिएको जनजागरण ।

यहाँ छिमेकमै भारत छ, जहाँ राजतन्त्र समाप्त भयो, अङ्ग्रेजको शासन आयो, रैती जनता त यसै पनि रैती नै थिए । तर के भयो ? महा पुरुषहरु जन्मिए । महात्मा गान्धी जसले सत्याग्रह सिकाए, नेताजी सुभाषचन्द्र बोस जसले सशस्त्र क्रान्ति नेतृत्व गरे, भगतसिंह, सुखदेव, राजगुरु जसले बलिदान दिए, रानी लक्ष्मीबाई जसले दरबार नछोडी युद्ध गरिन । उनीहरूले राजा होइन, जनताको मुक्ति चाहे । अङ्ग्रेजहरू खेदिए, भारत स्वतन्त्र भयो । आज भारतमा राजा छैन, देश चाहि छ । शिक्षा छ, विज्ञान छ, रेल छ, अन्तरिक्षसम्म पुगेका छन ।

नेपालमा के हुन्थ्यो त ?

त्यही हुन्थ्यो जो संसारभर भयो । राजाहरू गुलाम बन्थे, अङ्ग्रेजको दास बन्थे, जनता त यसै रैति उसै रैति । तर एक दिन हामीजस्ता देशभक्त क्रान्तिकारीहरू जन्मिन्थ्यौ । जसले तिम्रा राजाहरूलगायत देशलाई स्वतन्त्र बनाउँथ्यौ । किनभने जसले आत्मसम्मानमा चोट पाउँछ, ऊ क्रान्तिको बीउ बन्छ । आज पनि हेर्नुस, नेपालका किसान, मजदुर, महिला, आदिवासी, दलित यी त सदैव उपेक्षित थिए । अङ्ग्रेज आउँदा पनि उपेक्षित नै हुन्थे तर त्यही दुःखले क्रान्ति जन्माउँथ्यो ।

त्यसैले मित्र, “राजाले देश बचाए” भन्ने कुरा होइन, “जनताले राजा पनि सहन पर्‍यो, अनि शोषण पनि” भन्ने हो । अङ्ग्रेजले कब्जा गरेका देश आज कहाँ छन ? सिंगापुर विश्वकै आर्थिक शक्ति, घाना स्थायीत्वतर्फ उन्मुख, केन्या शिक्षा र पर्यटनमा समृद्ध, दक्षिण अफ्रिका रंगभेद अन्त्यपछि राजनीतिक स्थायित्वमा, अमेरिका स्वतन्त्रता संग्रामपछि शक्ति राष्ट्र । यी सबै अङ्ग्रेजबाट मुक्त भए । राजा थिएनन्, जनताले लडेर स्वतन्त्रता ल्याए । के तिनले “राजा भएरै बच्नुपर्थ्यो ?” कत्ति हैन ।

राजा भएर देश जोगाउने होइन, देश थुन्ने काम भयो, “राजाले देश जोगाए” भन्नेहरूलाई सोध्नुपर्छ । कसका लागि जोगाए ? जनताका लागि ? जसले शताब्दियौदेखि शिक्षा, स्वास्थ्य, जमिन र सम्मान पाएनन ? कि सिंहासनका लागि ? जसको उत्तराधिकारी आज पनि सिंहदरबारको सपना देख्दैछ ? साँचो कुरा त के हो भने, राजाले देश जोगाए होइन, देशलाई आफ्नो जागीर बनाए ।

त्यसैले अङ्ग्रेज होइन, आत्मबोधले स्वतन्त्रता ल्याउँछ । यदि अङ्ग्रेज पसेका भए, राजाहरू कुकुर झै उनको जुत्ता चाट्थे, रैती जनताले अझ पीडा सहन्थे, तर जनताबाटै क्रान्तिकारी चेतना जन्मिन्थ्यो । राजाको शासनभन्दा त्यस्तो दमनले सजग समाजको बीउ रोप्थ्यो ।

अङ्ग्रेजहरूले कहिल्यै कुनै देश सधैंका लागि कब्जा गरेनन । तर हाम्रा राजाले भने जनताको चेतनालाई सयौ वर्ष कब्जा गरे । त्यसैले मित्र, अब त “राजाले देश बचाए” भन्ने धोका पुरानो भयो । अहिलेको आवश्यकता हो, “जनताले आफ्नो चेतनालाई बचाउने !”

अन्त्यमा : “होत” को उत्तर खोज्नु छ भने, इतिहास पढ्नुस । “यदि अङ्ग्रेज भित्रिएका भए…” भन्नेहरूले इतिहास पढ्नुपर्छ । राजाहरूले देश बचाएका होइनन, शोषणको ढोका बन्द गर्न खोजेका थिए । किनभने अङ्ग्रेजले उनीहरूको राजतन्त्र नै विस्थापित गर्थे ।

जनता त जहाँ छन, त्यहाँ क्रान्ति पनि छ, स्वतन्त्रता पनि ।

12 thoughts on ““यदि अङ्ग्रेज नेपाल पसेका भए देश रहँदैनथ्यो ! भन्ने होत ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *