राजा साहबका आन्दोलन, श्रावाने झरीमा छाताको अभाव

Share
फाराप रुम्बा तामाङ

पञ्च भन्नु भनेको इतिहासको एउटा अध्याय मात्र होइन, आजको दिनमा पनि त्यो मानसिकता जिउँदै छ, काजि साहब, जमिन्दार साहब, र राजा साहबको नाममा । यी श्रीमान्‌हरू जनताको भोक, आँसु र सपना सँग होइन, आफ्नो महल, साजसज्जा र सत्ताको सुरक्षासँग चासो राख्छन ।

यी हुन् तिनै राजा साहबहरू जो बिहान रेष्टुरेन्टको खाजा खान्छन्, साँझ पाँचतारे होटेलमा डिनर गर्छन्, अनि करोडौको गद्देमा निदाउँछन् । दुई पाइलाको यात्रा पनि करोडको गाडी लाखौको भट्भटे चढेर गर्छन् । अनि भन्न देर चाहि लाग्दैन, “हामी जनताको लागि आन्दोलनमा छौ ।”

तर जरा हेर्नुहोस् त ! जुन दिन पानी पर्छ, त्यो दिन राजा साहबको “आन्दोलन” स्थगित हुन्छ । हुन त, आन्दोलनको “ड्रेस कोड” मिलाएर आउने साहबहरूलाई छाता ओडाइदिने रैती अझै बाँकी थिए भने शायद आन्दोलन अझ प्रभावशाली देखिन्थ्यो होला ।

तर समस्या त यही छ, सडकमा त राजा साहबकै भिड छ, रैती सबै हराइदिएको छ । कसलाई रैती बनाउने ? सबैले आफैलाई राजाको सन्तान सम्झेका छन् । जनता त कोही बाँकी छैन, जसले छाता ओढाइदियोस्, लाठी खायोस्, जेल गयोस् र पछि त्यो आन्दोलनको श्रेय राजा साहबले लिएर कुर्सीमा पुगुन ।

प्रकृति पनि आखिर थाक्छ होला ! सधै ती नै साहबहरूलाई घाम र पानीबाट बचाउन किन छाता बनिरहने ? आखिर प्रकृतिले पनि त बुझेको छ, अब यो मुलुकलाई छाता होइन, आँधी चाहिन्छ ।

यो आन्दोलन नामको तमासा अब जनताले बुझिसकेका छन । जहाँ क्रान्तिको नाममा फोटोशुट हुन्छ, जनताको आवाजको नाममा टिकटक लाइभ चल्छ, अनि सत्ताको ढोकामा दरबारिया ढोग चढाउछ ।

राजा साहबहरू, आन्दोलन तपाईको ड्रोनबाट देखिने दृश्य होइन; त्यो रैतीको रगतबाट लेखिएको अध्याय हो । तपाईका “फेन्सी क्रान्ति” अब न त भिज्छ, न त पग्लिन्छ, किनकि त्यो आन्दोलन होइन, महँगा सूटमा साजिएको दम्भ हो ।

हो, अब यो देशले छाता ओढाइदिने रैती होइन, छाता च्यात्नेको जनसागर चाहिएको छ । जो प्रश्न गर्छ, जो अवज्ञा गर्छ, जो सिंहदरबार ध्वस्त पार्न आँधी बनेर उठ्छ ।

11 thoughts on “राजा साहबका आन्दोलन, श्रावाने झरीमा छाताको अभाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *