क्रान्तिकारी नेतृत्वको गर्भाधान बाल्यकालदेखि नेतृत्वसम्मको यात्रा

Share
फाराप रुम्बा तामाङ

नेता जन्मिदैन, उ बनिन्छ । बनिन्छ संघर्ष, अध्ययन, पीडा, अस्वीकार, न्यायको तिर्खा र परिवर्तनको आकांक्षाबाट । एक क्रान्तिकारी विचारधारा बोकेको व्यक्ति बाल्यकालदेखि नै फरक हुन्छ । उ साधारण बालकजस्तो लाग्न सक्छ, तर उसको भित्री संसारमा आगो बलिरहेको हुन्छ । त्यो आगो न्यायको हो, समानताको हो, मानव मुक्ति र स्वतन्त्रताको हो ।

सानैदेखि उ अध्ययनशील हुन्छ, पाठ्यपुस्तकमै सीमित छैन उसको अध्ययन । उ समाजलाई पढ्छ, गलीको कोलाहललाई सुन्छ, स्कूलको अनुशासन र घरको अन्यायलाई तुलना गर्छ । जातीय अपमान, लैगिक विभेद, वर्गीय उत्पीडन उसले बालक आँखा भएर पनि चोखो ढंगले देख्छ । उ बोल्न सक्दैन, तर उसको भित्र प्रतिकारको आँधी उम्लिरहेको हुन्छ । ऊ बिष बोकेको साँपजस्तै, इख बोकेको हुन्छ, तर त्यो इख नाशको लागि होइन, नव निर्माणको लागि हुन्छ ।

सामाजिक सञ्जाल वा नारामा मात्र क्रान्तिकारी बन्नु सजिलो हुन्छ, तर व्यवहारमै क्रान्तिकारी बन्नु गाह्रो हुन्छ । यस्तो व्यक्तिको आचरण बाल्यकालदेखि नै फरक हुन्छ । सानालाई माया र ठुलो प्रति सम्मान । महिलालाई अलग होइन, बराबरको दृष्टिमा हेर्ने संस्कार । गुरुजनप्रति श्रद्धा, तर अन्धश्रद्धा होइन । बृद्धबृद्धाको अनुभवलाई गहिरो ढंगले बुझ्ने आदरभाव । देशको कानुन, संविधान र न्याय प्रणालीको गहिरो अध्ययन गर्ने । हरेक अभिव्यक्ति संविधानको दफा – उपदफा अनुसार सुसंगत बनाउन चाहने प्रयास । सत्ताको नजिक होइन, न्यायको नजिक रहने जिद्दी ।

तर व्यवहारको क्रान्तिकारीपन त्यसबेला मात्र पुष्टि हुन्छ, जब ऊ समाजका सबै पाटोलाई एउटै तराजुमा राखेर हेर्न थाल्छ । उ केवल ठूला मुद्दाहरूमा होइन, सडक छेउमा बस्ने अभागी बालकको नाङ्गो खुट्टामा पनि न्याय खोज्छ । उ देख्छ, कसरी बालबालिकाहरू किताब होइन, इँटा बोक्न बाध्य छन । कसरी तिनको कलम कापी हराएको छैन, कहिल्यै भेटिएको नै थिएन । उ बुझ्छ, विद्यालय जाँदै गरेको बच्चा मात्र देशको भविष्य होइन, विद्यालय जान नपाएको बालक पनि भविष्यको सम्भावना हो ।

उ बृद्धबृद्धाहरूको आर्त चिहाई सुन्छ, ती चिहाइ भजन होइनन, सन्तानको तिरस्कारको शब्दरहित क्रन्दन हुन । उ बुझ्छ, धर्मको नाममा आमाबुबा वृद्धाश्रम पुर्याउने संस्कार पवित्र होइन, निर्लज्ज हो । उ बुझ्छ, जीवनभर खटन खाने बाबुआमा, अन्तिम दिनहरूमा झट्टो चिन्न नसकिने बनाइदिने संस्कार नै पितृसत्ताको क्रुरता हो ।

र ऊ देख्छ, एउटी गरीब आमाले बिहानैदेखि चुल्हो बाल्छे, बिहानको छाक जुटाउँछे, साँझमा फेरि डल्लो पकाउँछे । उ जान्दछ, क्रान्तिको पहिलो कुरा यही “छाक” हो । उ, उ बुझ्छ, राजनीति भुख हटाउन होइन, सत्ताको भोक मेटाउन प्रयोग भइरहेको छ । तर उ भन्छ, “मेरो क्रान्ति त्यो दिन पुरा हुन्छ, जब हरेक पेट भरेर सुतेको हुन्छ ।

क्रान्तिकारी विचार बोकेको व्यक्ति महिलामाथिको हिंसालाई व्यक्तिगत समस्या होइन, संरचनागत अन्यायको रूपमा बुझ्दछ । बलात्कार, घरेलु हिंसा, श्रमको मूल्य नपाउने महिलाहरू, कामकाजी महिलालाई सन्देहको नजरले हेर्ने प्रवृत्ति, यी सबै उसलाई क्रान्तिको केन्द्रमा ल्याइदिन्छन । उ ती सशक्त तर चुप महिलाहरूको पीडा पनि देख्दछ, जसको आत्मसम्मान सौताको आगोमा पोलेर जलाइएको हुन्छ । जसको बिवाहलाई सम्बन्ध होइन, सम्पत्ति ठानेर हकभन्दा वञ्चित गरिएको हुन्छ ।

अनि उ भन्छ, क्रान्ति तबसम्म अपुरो हुन्छ, जबसम्म एउटी महिलाले डरबिना सडक पार गर्न सक्दिन, निर्णय गर्न सक्दिन, नेतृत्व गर्न सक्दिन ।

क्रान्तिकारी युवा केवल गाली गलौज, नाराजुलुस र सोशल मिडियामा पोस्ट गरिरहने व्यक्ति होइन । उ अध्ययन गर्छ, देशको इतिहास, संसारको संघर्ष, दासत्वको विरुद्ध उठेका विद्रोह, धर्मका नाममा भएको अन्याय, पूँजीवादी लुटतन्त्रका स्वरूप । उ चे ग्वेभारा, माओ, मार्क्स, लुमुम्बा, भट्टराई, गोकुल, जोको र अम्बेडकरको एकै साथ अध्ययन गर्छ । उ जान्दछ, विचार बिना हतियार केवल आक्रोश हो, र आक्रोश बिना विचार केवल दस्तावेज ।

उ प्रश्न गर्छ ;

किन एउटै देशमा कोही अर्बपति हुन्छ र कोही भोकै मर्छ ? किन एउटै स्कुलमा कोही आईफोनमा पढ्छ र कोही कापीविहीन बस्छ ? किन एउटै संविधानले सबैलाई समान अधिकार दिदा पनि न्याय किन असमान छ ? किन आमाबाबालाई ज्यान दिएपछि पनि सम्मान छैन ? किन गरीबको श्रम तौलिन्छ तर उसका आँसु गनिन्छ ?

यी प्रश्नहरूको उत्तर खोज्दाखोज्दै उ एक दिन नेता बन्छ । लोकप्रियताबाट होइन, चेतनाबाट । उ चुनाव जित्नलाई होइन, इतिहास बदल्नलाई अगाडि बढ्छ ।

क्रान्तिकारी नेता बन्नका लागि “भीडको समर्थन” भन्दा “सिद्धान्तको आत्मबल” चाहिन्छ । उसको हरेक निर्णय, व्यवहार र प्रतिबद्धता कुनै न कुनै जनताको पीडाबाट जन्मिएको हुन्छ । उ सत्ताको लागि होइन, उत्तरदायित्वको लागि अगाडि सर्छ । उ भुईमा बसेर रणनीति बनाउँछ, सिंहासनबाट होइन । ऊ किताब पढेर होइन, कैदी भएर पनि नेतृत्व गर्न तयार हुन्छ ।

उ जान्दछ, क्रान्ति केवल परिवर्तन होइन, पुरानो व्यथालाई चिर्ने उपचार हो । र त्यो उपचार बालकका खुट्टामा चप्पल, बृद्धाको मुखमा आदर, आमाको हातमा छाक, महिलाको छातिमा सम्मान, अनि सबैको चेतनामा समानताको उज्यालो हो ।

क्रान्तिकारी बन्नु ठूलो बोली होइन, जीवनको अनुशासन हो । सानैदेखि अन्यायको सामना गर्ने, व्यवहारमा समानताको संस्कार बसाल्ने, विचारमा गहिराइ राख्ने र जनतालाई बुझ्ने मानिस कालान्तरमा मात्र होइन, स्वाभाविकरुपमा नेता बन्छ । अनि उसको क्रान्ति केवल सरकार परिवर्तनको लागि होइन, मानव मुक्ति को लागि हुन्छ ।

र जबसम्म एउटी छोरी शिक्षाबाट बञ्चित हुन्छे, आमाबुबा तिरस्कारमा बाँच्न बाध्य हुन्छन, महिलामाथि चरम हिंसा शोषण हुन्छन र गरिबहरू पेटभरी सुत्न सक्दैनन, त्यसको आँखा निदाउँदैनन ।

जय जनक्रान्ति !

14 thoughts on “क्रान्तिकारी नेतृत्वको गर्भाधान बाल्यकालदेखि नेतृत्वसम्मको यात्रा

Leave a Reply

Your email address will not be published. Required fields are marked *