ऊ त मकैबारीको गोठालाको छोरा हो, मकैबारीमा गोठालामा फर्कनुपर्छ ।

Share

फाराप रुम्बा तामाङ

हामी कस्तो समाजमा बाँचिरहेका छौ भने जहाँ एउटा अनपढ गोरो विदेशी आयो भने आफुभन्दा शिक्षित, विद्वान र सभ्य ठान्छौ, भन्छौ । एउटै बोली बोल्न नसक्ने मानिसले झूटो अंग्रेजी बोल्यो भने पनि हामी क्या गज्जबको व्यक्ति भन्दै नतमस्तक हुन्छौं । तर हाम्रै छेउछाउको मान्छे चाहे ऊ बैज्ञानिक होस, लेखक होस, कलाकार होस, विद्वान होस, त्यसलाई हेर्ने दृष्टिकोण के हुन्छ भन्दा “यो त मै जस्तै हो नि” ! अनि बस, मान्यता सकियो, सम्मान हरायो, मुल्य शुन्य ।

यो केवल नजरको दोष होइन, यो चेतनाको दिवालियापन हो । यो हाम्रो गहिरो आत्महीनता हो । पराईलाई परम ठान्ने, आफ्नालाई सामान्य मात्र होइन, तुच्छ ठान्ने यो सोच हाम्रो सामूहिक आत्माको अपमान हो ।

जब ब्राह्मण वा क्षेत्री आयो भने उसलाई स्वतः विद्वान् मानिन्छ । उसलाइ केही नबोली ज्ञानको भण्डार घोषणा गरिन्छ । किनभने हाम्रो चेतना अझै पनि जातीय साँचोभित्र बन्द छ । अनि जब हाम्रै समुदायको एक जना अगाडि बढ्छ, उसले डिग्री लिन्छ, अनुसन्धान गर्छ, किताब लेख्छ, त्यसको मूल्यांकन होइन, तुलना हुन्छ । अनि तुलना गर्दा आउने निष्कर्ष हुन्छ, ऊ त मकैबारीको गोठालाको छोरो हो, मकैबारीमै गोठालामा फर्कनुपर्छ ।

यो मानसिकता केवल हाम्रै मान्छेप्रतिको घृणा होइन यो स्वयंप्रतिको घृणा हो । हामी आफूलाई तुच्छ, अनपढ, असक्षम मानेका छौं, त्यसैले हाम्रा प्रतिभा पनि तुच्छ र असक्षम लाग्छ । हामी आफूलाई सानो देखेका छौं, त्यसैले हाम्रा जस्तोसुकै उपलब्धि साना लाग्छ ।

यति गहिरो आत्महीनताले जब सोचको जरा सुकाउँछ, तब समाजमा विद्वान पराइ हुन्छ र आफ्नो चाहि ढोङी । अब, अझै कति समय ‘मै जस्तै हो’ भनेर हाम्रै प्रतिभालाई गिज्याउने ?

अब आफ्नालाई चिन्ने कि नचिन्ने ? आफ्नो मुल्य बुझ्ने कि नबुझ्ने ? आत्महिनताको यो श्रृंखला तोड्दै हाम्रै अनुहारमा आदर्श खोज्ने कि नखोज्ने ?

8 thoughts on “ऊ त मकैबारीको गोठालाको छोरा हो, मकैबारीमा गोठालामा फर्कनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *