“एउटा प्रश्न: आखिर के चाहिएको हो ?”

Share

फाराप रुम्बा तामाङ

देश भन्नु सबैको हो । यहाँ सिङ्गो समाजको, सबै वर्गको समान हिस्सा हुन्छ । तर इतिहास के भन्छ ? इतिहास भन्छ : यो देश राणाको दरबारमा गनगनिएको थियो, शाहको राजसिंहासनमा पुराण पाठ हुन्थ्यो, ब्राह्मण-क्षेत्रीको टीकामा राष्ट्रनिर्माणको प्रमाणपत्र घोटिएको थियो, र ठकुरीको खुकुरीमा राज्यको हकदाबी कोरिएको थियो । बाँकी सबै ? उनीहरू त “हेर्नेहरू-खटिनेहरू” अनि अन्त्यमा “सहनेहरू” थियो ।

राणाशासन ढल्यो तर त्यो शक्ति फगत शाहको दरबारमा सरेको थियो । पञ्चायत आयो, “लोकतन्त्रको आफ्नै शैली” भन्दै फेरि सत्तामा ती नै । २०४६ को आन्दोलनले बहुदल ल्यायो, तर सत्ता फेरि त्यो “शैक्षिक सर्टिफिकेट बोकेको जमातकै” गोजीमा पस्यो । एउटै मुन्द्रो, एउटै नारा, एउटै परिवार । राजतन्त्र फेरी-फेरी कपडा फेर्दै अडिग रह्यो ।

तर जब माओवादी आए, तब मात्रै सिंहासन हल्लियो । गम्भीर रुपमा । र शक्ति सतहमा आयो, पहिलोपटक जनताको तल्लो तहसम्म । राजा भागे । दरबार रोयो । अनि पुरानो एकाधिकार चर्को चिच्याहटमा रुन थाल्यो, “देश सकियो-विकास खत्तम भयो”, अव ध्वंश मात्रै बाँकी छ ।

तर आश्चर्य: जसका लागि लडियो, उनैले गाली गर्छन । मुद्दा यहाँ बुझौ : जसका लागि त्यो तन्त्र तोडियो, जसलाई सतहमा ल्याएर नेतृत्वको अवसर दिइयो, जसका छोरा-छोरी संसदसम्म पुगे, जसको भाषा बोल्न पाइन थालियो, जसका पहिचान राज्यले बुझ्न थाल्यो । आज ती नै माओवादीमाथि खनिएका छन । तिनैहरु आज भनिरहेको छ, “तिमीहरूले के नै गर्‍यौ र ?”, “देश त झन बिग्रियो” ।

प्रश्न यति हो: एउटा दलित, एक जना जनजाति, एक जना महिला, एक जना सीमान्तकृत नागरिक, यदि माओवादी क्रान्ति नभएको भए आज यहाँ बोल्न सक्थे ? संसदको ढोका ताक्न सक्थे ? आफ्नो भाषा पढ्न सक्थे ?

त्यो रगत, त्यो संघर्ष, ती अंगभंग, ती शहिदहरू, के तिनको मूल्य यति छ कि, आज सामाजिक सञ्जालमा सस्तो ट्रोल र गालीको विषय बनाइन्छ ?

अनि त, विकास ? माओवादी आएपछि विकास भएन भन्नेहरूको आँखामा काँचो ऐना देखाउनु पर्ने बेला आएको छ । त्यो क्रान्तिपछि नै संघीयता आयो, गाउँगाउँमा पूर्वाधार पुगे, स्थानीय तहमा जनप्रतिनिधि आए । आज साबिक गाविसहरूमा एउटै महिलाको हस्ताक्षरमा बजेट पास हुन्छ । त्यो कहाँबाट सम्भव भयो ?

अहिले पनि भौतिक संरचनाको आलोचना गर्न पाइन्छ । गरौं । भ्रष्टाचारको विरोध गर्नुपर्छ । गरौ । तर त्यसको नाममा त्यो मूल क्रान्तिलाई नै खारेज गर्ने दुस्साहस गर्नु, यो त सरासर ऐतिहासिक अज्ञानताको घिनलाग्दो चरम रूप हो ।

अब त स्पष्ट होस: के चाहिएको हो, आखिर ? एकाधिकार चोइटिएको पनि मन पर्दैन, जनताले बोलेको पनि मन पर्दैन, विकासको कुरा गर्दा पनि टाउको हल्लाइन्छ भने अब के चाहिएको हो ? कि फेरि राजाको पालाको दण्ड, दरबारको चाकरी, अनि एउटै जातको थालोबाट बाँडिने टुक्रा ? त्यो चाहिएको हो ?

माओवादीमाथि असन्तुष्टि हुनु स्वाभाविक हुन सक्छ । राजनीति हो यो । तर त्यो असन्तुष्टि सत्ताको कुर्सी नपाएको कुण्ठाबाट जन्मिएको हो भने, त्यो विद्रोह होइन, त्यो रियाक्सन हो । त्यो परिवर्तन होइन, त्यो अवसरवादी झोक हो ।

ऋण नमान र इतिहास बुझ ! माओवादी आन्दोलन कुनै पार्टीको निजी सम्पत्ति होइन । यो त त्यो भूगोल र वर्गको विस्फोट थियो, जसले पहिलोपटक देशलाई टाउकोमाथि खुट्टा राखेर सोच्न बाध्य बनायो । यो आन्दोलनले आलोचना होइन, स्मरण र सम्मान माग्छ । यो इतिहास हो, जुन भुलिन्छ भने समाज पुनः दासत्वमा फर्कन्छ ।

त्यो आन्दोलनबिना, म तपाई र हामी आज यहाँ आवाज उठाउने “साहस’ नै राख्दैनथ्यौ । त्यसैले, यदि आज तपाईंलाई बोल्न पाइन्छ भने, पहिले एउटा गहिरो श्वास लिनुहोस र सोच्नुस ! त्यो आवाज कसको त्याग र बलिदानबाट आएको हो ?

8 thoughts on ““एउटा प्रश्न: आखिर के चाहिएको हो ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *