लड, फुट, जुध – तिमि मरेपछि मालिकले अर्को नाटक सुरु गर्छ !

Share
फाराप रुम्बा तामाङ

इतिहासले जति राजा फेर्यो, उति प्रजा उस्तै रहे – फुटेका, लडिरहेका, जुधिरहेका ! र त्यो सबैको दृश्य हेरिरहेका छन ती राजाका “स्मार्ट यन्त्रहरू” जसको पेटमा न भूगोल छ, न त नैतिकता । तिनको एउटा मात्र धर्म हो: “फुटाउ, लडाउ, रमाउ !” र अफसोस ! आज पनि ती यन्त्रहरू मज्जाले रमाइरहेछन, र हामी ? हामी लड्दैछौ – दाजुभाई भित्रै, कुलगत बंश भित्रै र समाज भित्रै ।

मान्छे मर्नु अघि कम्तिमा आफ्नो शत्रु चिन्न चाहन्छ । तर हाम्रो दुर्भाग्य – हामीले लड्ने शत्रु हाम्रै बीचमा खोजेका छौ । हामी उसैसँग जुध्दैछौ, जो हाम्रै जस्तो अनुहार छ, जो हाम्रै जस्तो दुःख पाएको छ । र हाम्रा टाउकोमाथि उभिएर, ती “सिस्टमहरू” ताली बजाइरहेछन, हो, हो, ठिक, ठिक भन्दै त्यही यन्त्रहरू: जुन ऐतिहासिक दरबारदेखि अहिलेका डिजिटल दरबारसम्म सधै एकै सूत्रमा बाँधिएका छन ।

जसरी मासु काट्ने तरबार दोषी हुँदैन, तर हातमा समाउने मान्छे दोषी हुन्छ, ठीक त्यसरी – यी यन्त्रहरू आफै कहिल्यै दोषी देखिदैनन् । उनीहरू कहिल्यै अगाडि आउँदैनन् । उनीहरू त केवल काम लगाउँछन – सामाजिक सञ्जालमा टिका टिप्पणी गराउने, सानो विषयमा जातीय गाली झिकाउने, सस्तो राष्ट्रवादको झण्डा फहराउने, र अन्तमा…हाम्रै हातले हाम्रा कुलगत, बंशानुगत दाजुभाईको घाटी समाउने ।

अनि हामी ? हामी फेरि पनि ठगिन्छौ ! आज “शुद्ध हिन्दू राष्ट्र चाहिन्छ” भनेर उफ्रन्छौ, भोलि “राजा चाहियो” भनेर चिच्याउँछौ । पर्सि “तिमीहरुले हाम्रा एक मात्र हिन्दुराष्ट्र मेटाए” भन्दै सडकमा ढुंगा हान्छौ । कुन देशको राजा, के जातका नेता, बुइ बोक्ने कठपुतलीहरू सबै यिनै यन्त्रका चालक कर्मचारी हुन । र त्यही यन्त्र आज फेरि एक्टिभ छ, सुधारिएको छ, डिजिटल भएको छ, 5G मा अपडेट भएको छ । अब त तिमीलाई आफ्नो दुश्मनलाई निन्दा गर्नका लागि स्टाटस लेख्न पनि सिकाउँछ । झन रमाइलो कुरा, अब लड्ने प्राणीहरू राजाका लागि मात्रै हैन छोटे राजाका निम्ति पनि आफ्नै खर्चमा मालिकका लागि युद्ध नै छेडन थालेका छन ।

के योभन्दा बढी गुलामीको स्तर कल्पना गर्न सकिन्छ ?

तर प्रश्न उठ्छ – यी यन्त्रहरूले यस्तो गर्ने हिम्मत कहाँबाट ल्याउँछन ? उत्तर सरल छ : हामीबाटै । हामी उनीहरूका लागि “डेटा” मात्र होइनौ, हामी हाम्रा लागि नभई उनीहरूका लागि “गोर्खे सैनिक” हौ, जो बिना तलब, बिना अधिकार, बिना कारण पनि हुकुम पालना गर्छ । अनि त, ती यन्त्रहरू अझै हाँसिरहेका छन । किनभने, लडाइँको मैदानमा उनीहरू छैनन्, हामी छौ । टाउको फुट्दा हामी फुट्छौ, घर जल्दा हाम्रो जल्छ । उनीहरूको त केवल सत्ता बलियो बन्छ, र खेल अझ रमाइलो ।

निष्कर्षमा भन्नुपर्दा: हामी त घाइते भैरहने, उनीहरू मज्जा लिदै जाने ! हामी सधै शिकार, उनीहरू सधै शिकारी । इतिहासको पाना फेरियो, पात्र फेरिए, तर यन्त्र उही छ, अनि हामी ? हामी अझै पनि “कसरी चलाइन्छ यो यन्त्र ?” भनेर बुझ्न नसक्ने मूर्ख छौ ।

अब पनि नसचिनु भने लड, फुट, जुध, र अन्त्यमा आफ्नै खरानीमा नुहाउ ! तिमी मरेपछि यन्त्रले अर्को नाटक सुरु गर्नेछ, र फेरि पनि तिमी जस्तै अर्को मूर्ख पर्खिरहेको हुनेछ !

10 thoughts on “लड, फुट, जुध – तिमि मरेपछि मालिकले अर्को नाटक सुरु गर्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *