म किन माओवादी भए ?

Share

कुनै पार्टीको चकलेट चाखेर, नेताको घरमा ढोगेर, वा पाउ मोल्दै राजनीति गरेको होइन । आजसम्म म आफ्नो पसिनाको कमाइमा बाँचिरहेको सामान्य व्यक्ति हुँ । तर विचारमा स्पष्ट छु, र त म माओवादी भएको छु । किनभने, नेपालमा वास्तविक परिवर्तन ल्याउने साहस, आँट र बलिदान गर्ने शक्ति केवल माओवादीमै मात्र देखिन्छ ।

राजनीतिमा रमाउने धेरै देखे । कसैले पावर, कसैले पैसा, कसैले पद खोजेर दल-दलमा भासिएका छन । तर माओवादीले भने पुरै इतिहासलाई हल्लाउने खालको संरचनात्मक परिवर्तन ल्याएको छ । त्यसैले, मेरो विचारको चुनाव माओवादी हो ।

नेपालको राजनीतिक इतिहास हेरौ । १०४ वर्षको राणा शासनकाल जनता दास झै अशिक्षा र गरिबीको चंगुलमा थिए । ३० वर्षको पञ्चायती अधिनायकवाद, राजाको नाममा जनता बेवारिसे, आवाज उठाउनेलाई जेल, श्रमलाई तुच्छ, नेताहरुलाई टुक्रा बाँडेर पाल्ने खेल थियो । १९९० को प्रजातन्त्र – बहुदलीय प्रणाली आयो तर, त्यो पनि दलाल र सामन्तहरूको हतियार भयो । “लोकतन्त्र” जनताको लागि होइन, नेताहरूको व्यक्तिगत सम्पत्ति बढाउने साधन बन्यो ।

यसरी जनतालाई सदैव धोका दिइएको इतिहासबीच, १९९६ मा माओवादीले जनयुद्ध सुरु गर्‍यो । १० वर्ष लामो जनयुद्ध सामान्य विद्रोह मात्र थिएन । सामन्ती संरचना विरुद्धको युद्ध थियो, सदियौदेखि दलितलाई पानी नचल्ने, महिलालाई घर-चौकोसम्म सीमित, जनजातिलाई दोस्रो दर्जाको नागरिक बनाउने संरचना भत्काउन उठाइएको युद्ध थियो । पहिलो पटक हलो समाउने किसान, गोठालो, खेताला, मजदुरका छोराछोरीलाई जनसेना बनाइयो, गाउँ–गाउँमा “जनसत्ता” खडा गरियो । गरिब र किसानलाई शक्ति दिने युद्ध छेडियो । हजारौ महिलाहरू बन्दुक बोकेर युद्धभुमिमा अग्रपङ्तिमा उत्रिए, नेतृत्वको जिम्मा लिए । यो नेपालकै राजनीतिक इतिहासमा अभुतपुर्व थियो ।

माओवादी युद्ध बिना राजतन्त्र ढल्ने थिएन । प्रचण्डले भनेझै राजतन्त्र “गिद्ध” जस्तै थियो, जसलाई जनता संगठित भएर मात्र हटाउन सक्थे । यसरी जनयुद्धले समाजलाई नाडीदेखि हल्लाइदियो । जनयुद्ध र त्यसपछिको जनआन्दोलन मार्फत नै ऐतिहासिक उपलब्धिहरू ; गणतन्त्रको स्थापना भयो – राजा गयो, जनता सार्वभौम भए । संघीयता स्थापना भयो – केन्द्रको शक्ति टुक्रेर प्रदेश र स्थानीय तहमा गयो । समावेशी प्रतिनिधित्व कायम गरियो – दलित, जनजाति, महिला, मधेसी सबैलाई राजनीतिक प्रक्रियामा कानुनी अधिकार दिइयो । धर्मनिरपेक्षता लागु गरियो – हिन्दु राज्यको जुवा हटाएर सबै धर्म समान भए । मौलिक हकहरू – शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा अधिकारका रूपमा संविधानमा सुनिश्चित भए । यी उपलब्धिहरू अरू कुनै दलले होइन, माओवादी कै युद्ध र बलिदानले ल्याएको हो ।

त्यसैले, म माओवादी भएको छु भन्ने कुरा भावनामा मात्र होइन, गहिरो विश्लेषणमा आधारित छ । किनभने माओवादीले धनी-गरिब, उच्च-निम्न, महिला-पुरुष, सबैलाई समान अधिकार दिने लडाइँ लडे । किनभने माओवादीले मात्र जनताको शासनमा जनताको सहभागिता सम्भव बनाए । किनभने माओवादीले हिजोका दलाल, सामन्त, शोसकलाई इतिहासको थुप्रोमा फ्याँके । यही कारणले मेरो कलम निरन्तर माओवादीप्रति घुम्छ ।

तर, सत्य के हो भने, माओवादी पनि आज दलदलमा फसेको देखिन्छ । भित्रै-भित्र faction, नेताहरूबीच अविश्वास, जनतासँग टाढिने प्रवृत्ति । यी सबैले माओवादीको चमक घटाएको छ । तर मेरो रहर अझै बाँकी छ कि, एक पटक माओवादी अध्यक्ष प्रचण्डलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको रूपमा देश हाँकेको देख्ने । किनभने आज देशलाई स्थिरता चाहिएको छ । भ्रष्टाचार र दलाल सामन्तहरूको पुनःउठान विरुद्ध कडा नेतृत्व चाहिएको छ । त्यो नेतृत्व प्रचण्डजस्तो युद्ध, वार्ता, र राजनीतिक लडाइँ दुवैमा अनुभवी नेताले मात्र दिन सक्छ भन्ने मेरो ठम्याइ हो ।

कहिले काही म सोच्ने गर्छु, यदि माओवादी थिएन भने के हुन्थ्यो ? आज पनि राजा “दिव्य सत्ता” भन्दै टाउकोमा नाचिरहेको हुन्थ्यो । दलितले अझै धारामा पानी खान पाउँदैनथे । महिलालाई अझै घरकै अँध्यारो कोठामा सीमित राखिन्थ्यो । किसान अझै साहु महाजनको ऋणमा बाँधिन्थ्यो । यसले देखाउँछ कि, नेपाललाई नयाँ युगमा पुर्याउने शक्ति केवल माओवादी नै हो ।

म कुनै नेताको घरमा टाउको निहुराएर माओवादी भएको होइन । म कुनै चकलेट वा सिफारिसको लोभले माओवादी भएको होइन । कुनै पद-प्रतिष्ठा, लाभ-लोभ वा नेतासँगको हिमचिमका कारण होइन । म माओवादी भएको छु किनभने, मैले त्यसलाई वर्गसंघर्षको बाटोमा देखेको छु, शोसकविरुद्ध उभिएको क्रान्तिकारी शक्तिका रूपमा चिनेको छु, समानता र न्यायको लडाइँमा अग्रणी मान्ने गरेको छु ।

म माओवादी भएको छु किनभने, माओवादीले समाजको जरा नै हल्लाएको छ, माओवादीले परिवर्तनलाई शब्दमा होइन, कार्यमा देखाएको छ, माओवादीले जनतालाई शासक होइन, राज्यको मालिक बनाउने बाटो खोलिदिएको छ । त्यसकारण, आज मेरा सबै लेख, विचार र चेतना माओवादीतिर घुम्नुको कारण यही हो । र म अझै पनि चाहन्छु, प्रचण्ड एकपटक प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनेर यो देशलाई फेरि एकपटक क्रान्तिकारी बाटोमा लैजानुहोस ।

त्यो दिन नआएसम्म, मेरो कलम अझै माओवादीकै विचारमा धारिलो हुँदै जानेछ ।

4 thoughts on “म किन माओवादी भए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *