नेपालको आधुनिक राजनीतिक इतिहास हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, परिवर्तनका नारा सधै कांग्रेस र एमालेले दिए, तर त्यसको फल उनीहरूले आफ्ना नातेदार, ठेकेदार र पूँजीपतिहरूलाई बाँडे । २००७ सालमा देशले लोकतन्त्र पायो भनियो, तर त्यो लोकतन्त्र जनताको होइन, कांग्रेसको दलाल सञ्जालको थियो । २०४६ सालमा जनताले फेरि आन्दोलन गरे, त्यसपछि एमालेको भागेदारीतन्त्र सुरु भयो । देश बदल्ने होइन, पालो बदल्ने खेल सुरू भयो । कांग्रेसले रगत चुसे, एमालेले हड्डी चुसे र जनताका हातमा बाँकी रह्यो केवल छाला ।
तर आजका केहि नव–पुस्ता ठान्छन, कांग्रेस र एमाले त पुराना “पुर्ख्यौली सम्पन्न” दल हुन, जसले देश बनायो रे ! हो, देश बनायो तर नेताका छोरा, सम्धी, नातेदार, दलाल र ठेकेदारको देश बनायो । जनताको देश त उनीहरूको बैंक खातामा रूपान्तरण भयो । त्यसैले यी दुई दलको मुल इतिहास नै पुर्ख्यौली भ्रष्टाचार हो, जहाँ नीतिले होइन, वंशले शासन गर्छ । जहाँ विचारले होइन, ठेक्काले विकास मापन हुन्छ । र जहाँ जनताको रगतलाई दलको लगानी मानिन्छ ।
माओवादी क्रान्ति भने अर्कै अध्याय थियो, त्यो कुनै ह्वाइट हाउसको चिया पार्टी थिएन, त्यो एउटा सामाजिक विस्फोट थियो, त्यो विस्फोट जसले १० वर्षसम्म राज्यका हरेक शोषण थरथराहट हल्लायो । त्यो कुनै धनाढ्यको बगैचाबाट जन्मेको आन्दोलन थिएन, त्यो त खोले-पिठोको भोक र नाङ्गो खुट्टाको रोदनबाट जन्मिएको क्रान्ति थियो । ती गरिब किसान, मजदुर, गोठाला र दलितका छोराछोरीहरूले देशलाई नयाँ दिशातिर धकेले । शासक वर्गले तिनलाई “दुई टकेका विद्रोही” भने, तर उनीहरूकै बलिदानले आज देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता सम्भव भयो ।
तर समस्या यहाँबाट सुरु हुन्छ, जब जनयुद्धको सन्तानहरूले शहरमा पाइला टेके, कतिपयले खोले-पिठोको सिद्धान्त बिर्सेर कफी र कनफिडेन्सको राजनीति गर्न थाले, जनताको सपना बेच्दै क्रान्तिको नाउँमा सुविधाको बाटो रोज्न थाले, औलामा गन्न सकिने ति असफल पात्रहरुका औलाका दागका कारण सिङ्गै हातलाई अपराधी ठहर्याएको छ, त्यस्ता केही मतिभ्रष्ट पात्रहरू इतिहासले पक्कै क्षमा गर्ने छैन ।
तर कांग्रेस र एमालेका लागि भ्रष्टाचार परम्परा हो, जसरी धार्मिक घरानामा कुलपूजा हुन्छ, त्यसरी नै यी दलहरूमा “घुसपुजा” हुन्छ । २००७ सालदेखि २०४६ सम्म कांग्रेसले देशलाई निजी सम्पत्ति बनाए, २०४६ पछि एमालेले पनि त्यो सम्पत्तिमा आधा हिस्सेदारी लिए । तिनीहरूको बन्धुत्व-राजनीतिले देशको जनतामा निराशा र अविश्वास मात्रै बाँड्यो । यी दलहरू आज पनि भन्छन, “हामी ऐतिहासिक शक्ति हौ ।” तर इतिहासले भन्छ, “हो, तिमीहरू ऐतिहासिक हौ, तर अपराधका इतिहासका पात्र हौ ।”
माओवादी क्रान्तिले जुन चेतनाको आँधी ल्यायो, त्यसले नेपाली समाजको हजारौ वर्षको शोषणको ढोका फोड्यो । जात, लिङ्ग, वर्ग, क्षेत्र, धर्म, सबैमा समानताको बीउ रोपियो । त्यो बीउ आज पनि जीवित छ, तर कांग्रेस-एमालेको “पुर्ख्यौली भ्रष्टाचार” ले त्यो बीउमा हरेक दिन विष हालिरहेको छ । क्रान्ति केवल बन्दुकले होइन, चेतनाले लडिन्छ । त्यो चेतना अझै बाँकी छ, कुनै पार्टीको हैसियतमा होइन, बरु असमानताविरुद्धको बौद्धिक विद्रोहको रूपमा । क्रान्ति मर्छ जब जनता मौन हुन्छ, तर नेपालमा जनता झन्-झन् बोलिरहेको छ । र जबसम्म त्यो आवाज बाँकी छ, त्यतिबेलासम्म पुर्ख्यौली भ्रष्टाचारको साम्राज्य टिक्न सक्दैन ।
माओवादीले जनताको घर खोले, तर तिजोरी होइन, क्रान्तिको झिल्को निकाले, त्यो झिल्कोले देशमा परिवर्तन ल्यायो । देश आज जहाँ पुगेको छ, त्यो संयोग होइन, कांग्रेस र एमालेको दीर्घकालीन भ्रष्ट-वंश शासनको परिणाम हो । उनीहरूको “लोकतन्त्र” केवल ठेकेदार र व्यापारीको स्वतन्त्रता थियो, जनताको होइन ।
त्यसैले, माओवादीलाई दोष दिनेहरू पहिले आफ्ना पुर्ख्यौली दलका अपराधहरूको किताब पढ, त्यो पढेपछि मात्र तिमीलाई थाहा हुनेछ, साँचो दोषी क्रान्ति होइन, साँचो दोषी त पुर्ख्यौली भ्रष्टाचार नै हो ।
फाराप रुम्बा तामाङ
https://shorturl.fm/gTaA9