– गौरब श्रेष्ठ
नेपालको राजनीति अहिले एउटा विचित्र दोबाटोमा उभिएको छ — एकातिर दशकौँ देखि सत्तामा रहेर सत्ता र संगठनलाई आफ्नो स्वार्थ अनुसार प्रयोग गर्ने पुरानो राजनीतिक प्रवृत्ति छ; अर्कोतिर नयाँ पुस्ताले लोकप्रियता र आक्रोशका आधारमा संस्थागत प्रणालीभन्दा बाहिरको नेतृत्वको शैली विकास गर्दैछ । यी दुबै धारका प्रतिनिधि पात्रहरू हुन् — केपी शर्मा ओली र बालेन शाह । बाह्य रूपमा उनीहरू फरक देखिए पनि, गहिरो विश्लेषण गर्दा दुबै प्रवृत्तिमा एउटा साझा तत्व पाइन्छ — व्यक्ति केन्द्रित राजनीति । यही प्रवृत्ति नेपालको लोकतन्त्रका लागि दीर्घकालीन रूपमा घातक बन्दै गएको छ।
१. केपी ओलीको ‘संविधानभन्दा म माथि’ सोच ।
ओलीको नेतृत्व शैलीमा ‘सत्ताको स्थायित्व र राष्ट्रवादको रक्षा’ भन्ने नारा सुन्न आकर्षक लाग्छ, तर उनको राजनीतिक अभ्यासले संस्थागत लोकतन्त्रलाई कमजोर पार्यो । पार्टीभित्र सहमतिको सट्टा वफादारी, आलोचनाको सट्टा चुप्पी, र सल्लाहको सट्टा आदेशमुखी संस्कृतिलाई उनले जरो गाडे । प्रधानमन्त्रीको रूपमा उनले संविधान र संवैधानिक संस्थाहरूलाई आफ्नै राजनीतिक प्रयोगशालामा रूपान्तरण गरे । अदालत, राष्ट्रपति र संसदसँगको उनको द्वन्द्वले सत्ता सन्तुलनको सिद्धान्तमै चोट पुर्यायो । ओलीको प्रवृत्ति “म बिना देश चल्दैन” भन्ने एकल-नेतृत्व मानसिकतामा टेकेको थियो । यस्तो सोचले जनप्रतिनिधि प्रणालीलाई कमजोर पार्छ र नागरिक सहभागिताको आत्मालाई मार्छ । जब नेता प्रणालीभन्दा ठुलो बन्छ, लोकतन्त्र बाँच्दैन — यही वास्तविक खतरा ओली प्रवृत्तिबाट उत्पन्न भएको हो ।
२. बालेनको ‘प्रणालीभन्दा बाहिरको सुधार’ सोच ।
बालेन शाहले राजनीतिक दलहरूको असफलताबाट जन्मिएको असन्तुष्ट जनभावनालाई आकर्षक शैलीमा उपयोग गरेका छन् । युवाहरूमा उनको लोकप्रियता अस्वाभाविक होइन, किनभने उनी पुरानो राजनीतिक नातेदारी र भ्रष्टाचारबाट दिक्क जनतालाई नयाँ विकल्पको प्रतीक जस्तै लाग्छन् । तर समस्या यहाँ छ — उनले प्रणाली सुधारभन्दा बाहिर रहेर सुधार गर्ने प्रयास गरेका छन् । मेयरको हैसियतमा कानूनी, प्रशासनिक र प्रक्रियागत सीमा हुन्छ तर बालेनले धेरैपटक कानूनभन्दा माथि रहेर निर्णय गरेका छन् — जसले अल्पकालमा लोकप्रियता त दिन्छ, तर दीर्घकालमा संस्थागत अभ्यास कमजोर बनाउँछ । उनले आलोचना स्वीकार्न नसक्ने, मिडियासँग संवाद नगर्ने, र व्यक्तिगत मनोविज्ञानमा आधारित प्रशासन चलाउने शैली अपनाएका छन् । यस्तो प्रवृत्ति “लोकप्रिय अधिनायकवाद” (popular authoritarianism) तिर लम्कने संकेत हो, जुन लोकतन्त्रको सबभन्दा खतरनाक रूप हो ।
३. दुवै प्रवृत्तिको साझा खतरा संस्थाको क्षय ।
ओली र बालेन दुबै फरक पुस्ता र पृष्ठभूमिका भए पनि, दुबैमा संस्थाभन्दा व्यक्ति ठुलो भन्ने सोच छ । ओलीले पार्टी र संविधानलाई आफ्नो राजनीतिक हितमा प्रयोग गरे । बालेनले कानूनी प्रक्रिया र संस्थागत जिम्मेवारीलाई व्यक्तिगत प्रदर्शनको मञ्च बनाए । यसरी दुबै प्रवृत्तिले ‘संस्थागत राजनीतिक परिपक्वता’ (institutional maturity) लाई क्षति पुर्याए । लोकतन्त्रको सबलता संसद, पार्टी, स्थानीय निकाय र स्वतन्त्र मिडियामा निर्भर हुन्छ । तर यी प्रवृत्तिहरूले ती सबै संरचनालाई अविश्वास र भयको वातावरणमा राखे।
४. समाधान – नागरिक चेतनाको पुनर्जागरण ।
नेपाललाई अहिले नयाँ नारा वा नयाँ अनुहारभन्दा बढी नयाँ राजनीतिक संस्कार चाहिएको छ । यस्तो संस्कार जसले नियम, जवाफदेहीता, पारदर्शिता र संवादलाई प्राथमिकता देओस् । नेता लोकप्रिय हुन सक्छन्, तर लोकतन्त्र लोकप्रियतामा होइन, संस्थामा टिक्छ । नागरिकले पनि अब “को व्यक्तिको पक्षमा” होइन, “कस्तो प्रणालीको पक्षमा” भन्ने सोच विकास गर्नुपर्ने बेला आएको छ । हामीले जसको आलोचना गर्छौं, उसको प्रतिकूल चरित्रलाई अर्को नेतामा प्रशंसा गर्दा हामी नै लोकतन्त्रका सबभन्दा कमजोर कडी बन्छौं । केपी ओली र बालेन शाह दुवै फरक समयमा जन्मिएका नेताहरू हुन्, तर दुबैको राजनीतिक प्रवृत्तिले एउटै खतरा संकेत गर्छ — लोकतन्त्रलाई प्रणालीबाट व्यक्तिको हातमा सुम्पिनु । नेपालजस्तो संक्रमणशील देशका लागि यो खतरा सामान्य होइन । अहिलेको आवश्यकता नयाँ व्यक्तित्व होइन, नयाँ राजनीतिक संस्कार हो — जहाँ नियम, संस्थागत सन्तुलन र नागरिक अधिकारको सम्मान प्रधान हुन्छ । यदि हामीले समयमै बुझेनौं भने, ‘ओलिको अहंकार’ र ‘बालेनको विद्रोह’ दुबैले एउटै निष्कर्षमा पुर्याउनेछन् — कमजोर लोकतन्त्र र बलियो व्यक्ति बनाउछ ।
https://shorturl.fm/jKd0W
समय सापेक्ष बिश्लेषणात्मक लेख!
https://shorturl.fm/2aTsb