एमाले झुठका नौ अध्याय !

Share

देशको राजनीतिमा एक विचित्र दाबी बारम्बार सुन्न पाइन्छ । “यो देशमा विकासको लहर ल्याउने, राष्ट्र जोगाउने, दलालहरूसँग नझुक्ने पार्टी एमाले हो ।” त्यो दाबी सुन्दा लाग्छ, सायद अब नेपाल स्विट्जरल्यान्ड भइसकेछ र हामिले नबुझेका रहेछौ । तर जब आँखाले चरम महङ्गि, बेरोजगारी र नेताको विलासी जीवन देख्छ, तब बुझिन्छ । विकासको लहर होइन, भ्रष्ट्राचारको सुनामी आएको रहेछ ।

एमाले किन बिगृयो भन्ने कुरा होइन, एमालेका झोलेहरुले प्रचार गरेका “एउटा पार्टीको गुणसुची” का हरेक बुँदाको खण्डन गर्नैपर्छ, ताकि उनिहरुको झुठ आफैमाथि फर्कियोस ।

१. देशमा विकासको लहर ल्यायो एमालेले

हो, ल्यायो । मेलम्चीको पानी, नारायणी नदी पार गर्ने पुल, अनि बालुवाटारदेखि बानेश्वरसम्म सडक, यी सबै एमालेका भाषणमा निर्माण भएका चमत्कार हुन । एमालेको विकास त्यस्तो छ, उदघाटन भाषणमा बन्छ, फोटो खिचिसकेपछि भत्किन्छ । जनताको करले बनाएको योजना ठेकेदारको विलामा हराउँछ, अनि ठेकदारकै दाजुभाइ मन्त्रीकै दलमा प्रवेश गर्छ । यसरी एमालेको विकास होइन, दल सिद्ध व्यापार फस्टाउँछ ।

टुइन विस्थापित झोलुङ्गे स्थापित, फिता कट, सेल्फि सुट, उदघाटन सम्पन्न, भोलिपल्ट स्कुले बच्चा डोरीमा बादरझै झुन्डिएर खोला तर्नुपर्छ । बनेका झोलुङ्गेबाट मान्छे होइन, खच्चर झर्छ, अनि झरेको जिम्मा “मुर्ख जनताको असावधानी” भन्छ । पुर्व-पश्चिम रेल, न लिग, न बाटो ! सेतो इन्जिन, रातो बोडि, लाइभ सो र सेल्फि । तर छेणभरमै “केपी रेल” भैसीगोठमा परिणत । अझै पनि भाषणमा गफ सुन्नुपर्याथ्यो, केरुङ-पोखरा रेल, बेनीमा स्टेशन, काठमाडौमा मनोरेल । वाह !

यो देशमा हावा बेच्न सक्ने एकमात्र उद्योग भनेको एमाले हो । फोहोरको डङ्गुरबाट ग्यास निकाल्ने सपना, घर-घरमा, चुल्हा-चुल्हामा ग्याँस पाइप र सगरमाथाको टुप्पोमा भ्युटावर बनाउने वाचा । यिनै हुन “विकासका लहरहरू”, जसको बिल जनताले, कमिसन एमालेले ।

जनताको रगत पसिनाबाट सिन्चेको देशको ढुकुटी, एमालेकै हावादारी-बकम्फुसे मिसन र भिजनका कारण “ॐ पाते स्वाहा – देश हरिकंगाल । धन्न, एमालेको पालामा अन्टार्टिकामा जहाज गुडेन, नत्र त सायद झापाको टावरबाट नै अन्तरिक्ष रकेट प्रक्षेपण गरेर “नेपाल विश्वकै सम्पन्न शक्ति” घोषणा गरिन्थ्यो ।

२. जातीय राज्यबाट देश जोगायो

जातीय राज्य रोक्यो भन्नेहरू, जातीय विभेदलाई कहिले रोक्ने ? संविधानमा समानता लेख्ने, तर पार्टीभित्र ठेकेदारको जात र मन्त्रीको वंश अनुसार टिकट बाँड्ने, सिट बाँड्दा जातको आधारमा सम्झने, तर न्याय बाँढ्दा बिर्सने । दलित, जनजाति, महिला, तामाङ, मगर, थारु, मुसहर का मुद्दा कागजमै थन्काउने । जनजातिलाई कोटा भनिदिने, तर ठेक्का र पदमा कोटा बिनाको आफ्नै मान्छे राख्ने । जातिय आधारमा अधिकार माग्नेलाई “देशद्रोही”, “विदेशी दलाल” भन्ने, अनि जातिय समानताको नाममा जातकै ठेकेदार बनेर कुर्सिमा बस्ने । यही हो एमालेको अधिकार हरण जातिय एकताको चमत्कार ।

त्यसैले एमालेले नाम त राख्यो, तर न्यायको अर्थ बुझेन । जातीय राज्य रोक्यो, तर जातीय विभेद चलाइराख्यो । हकिकतमा एकल जातीय वर्चस्वको सिंहासन जोगायो । संविधानको नाममा विविधता दबायो, असमनताको बाटो जोगायो, समावेशीकरणको नाममा आफुहरुलाई स्थायी पदाधिकारी बनायो ।

३. पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, मुख्यमन्त्री एमालेले बनायो

अवश्य बनायो । तर महिलालाई कुर्सीमा राख्ने र त्यो कुर्सीको रिमोट आफै चलाउने कस्तो महान समानता !

महिला सशक्तिकरण एमालेको शैलीमा; फोटोमा नारी, निर्णयमा पुरुष ! राष्ट्रपतिलाई “संवैधानिक प्रमुख” भनिन्छ, तर पार्टी प्रमुखको आदेश नमान्दा फाइल रोक्ने परम्परा एमालेको अभुतपुर्व योगदान हो । एमालेको नारी सशक्तिकरण भनेको, कुर्सीमा महिला, रिमोट बालुवाटारमा । समानताको नाटक, नियन्त्रणको राजनीति ।

त्यसैले एमालेले के बनायो, राष्ट्रपतिलाई “कठपुतली” बनायो ।

४. देश टाट पल्टिनबाट जोगायो

साँचो हो, देशलाई होइन, नेताका छोरा-छोरीका व्यवसायलाई जोगायो । विदेशी ऋण ल्याएर देश र जनतालाई कर माथि करमा डुबायो, अनि त्यो ऋणको ठेक्का आफ्नै पार्टीका व्यापारीलाई दिएर “विकास” को माला जप्यो । देशको GDP भन्दा एमाले नेताको सम्पत्ति छिटो बढ्नु पनि कुनै सन्देह छैन, यो पनि “विकासको सुचक” हो कि ?

त्यसैले देश टाट पल्टिनबाट जोगाएको होइन, देशकै ढुकुटी टाट पल्टायो । बैकहरू रित्तिए, ठेक्का कम्पनीहरू फस्टाए, एमाले मन्त्रीका छोरा-छोरी विदेशमा नयाँ व्यवसायी बनाए । देशको ऋण जनताले तिर्ने, र त्यसको कमिशन एमालेले खाने । त्यो जोगाउने होइन, लुटको व्यवस्थापन हो ।

५. सामाजिक सुरक्षा भत्ता बढायो

हो, वृद्धभत्ता पाँच सयले बढायो, तर महंगी पाँच हजारले बढाउने कला पनि साथसाथै सिकायो । जनताले सस्तो चामल खोज्दै पसल धाउँछन, नेताले सस्तो सम्मान खोज्दै भाषण गर्छन । राष्ट्रवादको नाममा नाटक, समाजवादको नाममा ठेक्का । यही हो एमालेली गणित ।

जनतालाई दुई किलो चामलका लागि लाइनमा उभ्याउने, र नेताको घरमा सरकारी गाडीका लाइन लगाउने । भत्ता बढाएर महंगी बढाउने । त्यो अर्थशास्त्र होइन, बृद-बृदा माथि भोटको मनोविज्ञान राजनीति हो ।

६. चुच्चे नक्सा जारी गरेर नेपालको भुभाग समेट्ने एमाले हो

नक्सा जारी त भयो, तर सिमामा सिपाही पठायौ त ? नक्सा टाँसियो, तर नक्साभित्रको भु-भाग अझै भारतकै कब्जामा छ । एमालेको राष्ट्रवाद त्यो हो जुन नक्सामा मात्र ठुलो हुन्छ, नक्शा बाहिर निस्कँदा सानो । टेबुलमा चप्पल बजाएर “हामी सशक्त छौ” भन्ने र बैठक सकिएपछि दिल्लीको दुतावास पुग्ने । यही हो नक्सा-नायकहरूको क्रान्तिकारी मुद्रा । राष्ट्रवादको आवाज भाषणमा गर्जिन्छ, तर सिमामा मौन रहन्छ । नक्सा निकाल्ने राष्ट्रवाद होइन, कब्जा फिर्ता गर्ने – नक्सा कार्यान्वयन गर्ने राष्ट्रनिर्माण हो, जुन एमालेले कहिल्यै गरेन, गर्नेवाला पनि छैन किनकि त्यो एमालेको शब्दकोशमा छैन ।

७. भारतसँग आँखा जुधायो

हो, आँखा त जुधायो, तर तर देवलोकका भगवान ईन्द्रको दर्शन पाए जसरी, आँखामा आँशु, अनुहारमा मुस्कान सहित । जुन आँखा जुधाइले मोदीजीलाई पनि लाज लागेन । कुटनिति नभएको नाटक, राष्ट्रवादको सेल्फी, यही हो एमालेको “आँखा जुधाउने” शैली । देशको खोला-नाला, श्रोत बेची खान सम्झौता गर्न दिल्लि पुग्ने, र फर्केर भाषणमा राष्ट्रवादी हौ भन्दै गर्जने । देशभक्ति बोल्ने र विदेशी स्वार्थको सिफारिस गर्ने । साँचो राष्ट्रवाद त लिपुलेकमा देखिन्थ्यो, तर एमालेको राष्ट्रवाद माइक्रोफोनमा मात्र गर्जिन्छ ।

८. दलालहरूसँग नझुक्ने पार्टी एमाले

दलालहरूसँग नझुकेर तिनैलाई पार्टीको केन्द्रीय सदस्य बनायो । ठेक्का दलाल, व्यवसायिक दलाल, मिडिया दलाल, सबै पार्टीभित्र । भ्रष्ट्राचारको सञ्जाल र नेताको परिवार एकै तौलमा तौलिन्छन । दलालसँग नझुकेको होइन, दलालमै रूपान्तरण भएको पार्टी हो । त्यसैले ठ्याक्कै “हातमा हत्कडी लगाएर इमान्दार देखिन खोज्नु” लाज पनि लजाउने कुरो हो ।

९. लिपुलेक, कालापानी नेपालकै बनाउने दबाब दियो

दबाब त दियो, तर फेसबुकमा । क्याबिनेट बैठकमा दबाब थिएन, भारतसँग व्यापार सम्झौता हुँदा राष्ट्रवाद हरायो । जनताको भूभाग खोसिदा मौन बस्ने र भाषणमा मात्र शेर बन्ने । यो हो एमालेली । साँचो राष्ट्रवाद टेबलको आवाज होइन, सीमाको उपस्थिती हो, जुन एमालेले कहिल्यै देखाएन ।

त्यसैले एमाले बिग्रेको होइन, बिगार्ने संस्था हो ।

देशको विचार, जनताको विश्वास, र लोकतन्त्रको आस्था बिगार्ने प्रयोगशाला हो । विकासको नाममा ठेक्का, समाजवादको नाममा विलास, र राष्ट्रवादको नाममा नौटंकी, यही हो एमालेली “नयाँ नेपाल” को दस्तावेज ।

अब जनता बुझ्दैछन, देशको विकास “भाषणमा” होइन, “इमानमा” हुन्छ । र इमान बिकेको ठाउँमा, एमालेजस्तो दल फस्टाउँछ ।

✍️ फाराप रुम्बा तामाङ

One thought on “एमाले झुठका नौ अध्याय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *