पुर्खादेखि बोकिएको एउटा झोला हो, पार्टीको नाममा टाँसिएको, पहिचानको नाममा बाँधिएको । ज्युज्यु बा, हजुर बा, बुबा सबै यही पार्टीमा मरेर गए । नरोएका उनीहरू होइनन, नरोएको त देश हो, जसले यस्ता झोले पुस्ताहरूको बलिदानको बाख्रा बनेर निरन्तर सह्यो ।
ती पुराना पिढीले पार्टीलाई देश माने, नेतालाई भगवान माने, अनि झोलेहरुले त्यो परम्परा रगतसँगै उत्तराधिकारका रूपमा पायो । बाँच्ने सहारा यही पार्टी, बोल्ने भाषा यही पार्टी, अनि सोच्ने ढाँचा पनि यही पार्टी, बाकसको साँचो जस्तो, जहाँ ताजा हावा प्रवेश गर्नै नपाउने ।
हिजो हजुरबाले चन्दा उठाएर पार्टीलाई बचाए, आज नातिले पार्टीको लागि कमिसन उठाएर मर्छु भन्छ । हिजो बुबाले आदर्शका लागि जेल गए, आज छोरो फाइदाका लागि मन्त्रालय धाउँछ । यो हो, पार्टी परम्परा । सिद्धान्त होइन, सम्पत्ति हो । जुन पुस्ता देशका लागि बाँच्यो, त्यो पुस्ता अब पार्टीका लागि मात्रै बाँचिरहेको छ ।
झोलेहरुले जनताको मुक्ति होइन, झोलाको सुरक्षा सिक्यो । पार्टी छोड्नु अब अपराधजस्तो छ, किनकि पुर्खाको “योगदान” को ताबीजले झोलेहरुको घाँटी बेरेको छ । बाँच्न त पार्टीमै बस्नुपर्छ, तर आत्मा हरेक बैठकमा चिहानमा पुरिन्छ ।
हिजोका क्रान्तिकारीहरू आजको सभामा टाई बाँधेर क्रान्तिको भाषण गर्छन । नेताको जुत्तामा हेरौ, जनताको चपल सुक्ने ठाउँ छैन । झोलेहरू तिनकै बुट पोलिस गर्नमा व्यस्त छन । नारा लगाउँछन, “देश बदलौ !” तर अर्थ हुन्छ, “पद पाऊ ।” देश त कति पटक बदलियो, तर नेताको बैक ब्यालेन्सबाहेक केही बदलिएको छैन ।
झोले जिन्दगि अब एउटा रोग हो, जसले आत्मसम्मानको हड्डी फुटाउँछ । यस रोगले मान्छेलाई यति निर्लज्ज बनाउँछ कि उ आफ्ना बालबालिकाको भविष्यभन्दा नेताको अनुहार हेरिरहेका हुन्छ । उ सोच्दैन देश के भयो ! उ सोच्दछ, म मन्त्रीको नजिक छु कि छैन ।
देश खरानी किन भयो ? किनभने नेताले देशलाई इन्धन बनाएर आफ्ना झोला तताए । प्रत्येक नीति, प्रत्येक योजना, तिनीहरूको झोलाको नयाँ फाइल बन्यो । जनता आशाको धुलोमा घोटिदै छन, र नेताहरू कफी सिप गर्दै देश बचाउने रणनीति बनाइरहेका छन ।
यस्ता झोलेहरू देशका सबै कुनामा छन । सडकमा, मन्त्रालयमा, मञ्चमा, मिडियामा । उनीहरू गन्धहीन छैनन, उनीहरू लज्जाहीन छन । जुन दिन पार्टीले “झोला वितरण” गर्छ, त्यो दिन उनीहरू झ्यालमा टाँसिएका भ्यागुताजस्ता हर्षित हुन्छन । अनि देश ? देश त उही खरानी, जसमा जनताको पसिना मिसिएको छ ।
अब प्रश्न उठ्छ ! यो झोले जिन्दगि कतिबेला सम्म ? पार्टी छोडौ भने पुर्खाको नाम मेटिन्छ, रहौ भने आत्मा । अर्को पार्टीमा जानु भने, अर्को दलालको झोला बोक्नु मात्र हो । विकल्प छैन, किनकि झोलेहरुले पार्टीलाई धर्म बनायो, र नेतालाई भगवान ।
तर इतिहासको एउटा सुत्र कहिल्यै मेटिदैन । जब जनता ब्युझिन्छ, झोला फुट्छ । र झोला फुट्यो भने, त्यो नेताहरूको बाख्राबारीमा आगो लाग्छ । तब मात्रै देशमा नयाँ बीउ उम्रिन्छ । देशलाई परिवर्तन गर्ने पहिलो कदम भनेको त्यो झोला फोड्नु हो । चाहे त्यो पुर्खाको नाममा टाँसिएको किन नहोस । यो व्यंग्य होइन, चेतावनी हो, जसले आत्मा हराएको क्रान्तिकारी पुस्तालाई ऐना देखाउँछ ।
देश तब बन्नेछ जब झोलेहरु झोला बोक्न छोड्छ, अनि इतिहास तब लेखिनेछ जब झोले मर्न सिक्छ ।
✍️ फराप रुम्बा तामाङ
https://shorturl.fm/MSQGN
https://shorturl.fm/aOAqi